लण्डन : बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेसँग नेपाली मूलका नेपालीको पहिचान गरी नेपालसFग जोड्न आग्रह गरिएको छ ।एसोसिएशन अफ नेपाली ओरिजिन (एएनओ) का केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वको टोलीले नेपाली दूतावास लण्डनमा शिष्टाचार भेट गरी सो आग्रह गरेको हो ।
भेटका लागि १८ फेब्रुवरी २०२५ का दिन लण्डन दूतावास पुगेको टोलीले राजदूत घिमिरेलाई बेलायतमा स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका थिए । भेटका अवसरमा राजदूत घिमिरेले संस्थाको बारेमा जानकारी माग्दै सफलताको शुभकामना दिनुभएको थियो ।
एसोसिएशन अफ नेपाली ओरिजिनको स्थापना गर्नुको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष अधिकारीले गैर आवासीय नेपालीसम्बन्धी कानूनले सबै नेपाली मुलका नेपालीलाई समेटन नसकेको अवस्थामा कैयौ नेपाली मुलका मानिसहरु अभिभावक विहीन अवस्थामा रहेको बताउनुभयो ।
भेटका क्रममा अधिकारीले नेपाली मूलका मानिसहरुलाई आफ्नै मातृभूमिमा विदेशी नागरिकजस्तो नहोस् भन्ने कुरा सरकारले पनि महसुस गरेर उनीहरुको भावना समेटनको लागि पहल गरिदिन आग्रह गर्नुभयो ।
संस्थाको बेलायत घोषणापत्र २०२५ राजदूत घिमिरेलाई हस्तान्तरण गर्दै नेपाल र नेपालीको हितका लागि दूतावाससँग सहकार्य गर्न संस्था सधै तत्पर रहेको भर्खरै गठित एएनओ बेलायतका राष्ट्रिय अध्यक्ष पुण्य रेग्मीले बताउनुभयो ।
आफ्नो जन्मथलो बाहिर रहँदा नेपालप्रति भावनात्मक रुपमा झन् गहरो सम्बन्ध स्थापित गर्न मन लाग्ने अनुभव बिभिन्न देशहरुमा बसोबास गर्ने नेपाली मूलका मानिसहरुलाई एकताबद्ध बनाएर नेपालको विकास र उन्नतिका लागि संगठित रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रीय स्तरमा एएनओले अभियान चलाएको संस्थाका केन्द्रीय सहसचिव अर्जुन पौडेलले बताउनुभयो ।
सोही अवसरमा अध्यक्ष अधिकारीले नेपाल र नेपाल बाहिर पनि नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र सम्वर्धनका लागि इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित दुई ठूला रियालिटी सो हरु ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन-२ मा गीत संगीतको माध्यमबाट संसारभर छरिएका नेपालीमूलका नागरिकलाई नेपालसँग जोड्न परिकल्पना गरिएको जानकारी दिनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij