Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गोरखा पुगेर प्रचण्डले भने- हामी पार्टी पुनर्निर्माण अभियानमा जुटेका छौँ

गोरखा पुगेर प्रचण्डले भने- हामी पार्टी पुनर्निर्माण अभियानमा जुटेका छौँ

गोरखा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदको बलिदानकै कारण आजको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।बिहीबार गोरखाको गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीनजना शहीद भएका नहर्की परिवारसँग भेट गर्दै उनीहरु देशका साझा सम्पत्तिको रुपमा रहेको भन्दै सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताएका हुन् ।

‘राजनीतिक परिवर्तनका लागि नेपालमा विभिन्न आन्दोलनहरु भएका छन्, तीमध्ये सबैभन्दा ठूलो र लामो समयसम्म चलेको आन्दोलन जनयुद्ध हो’ अध्यक्ष प्रचण्डले भने, ‘यसमा हजारौं जनताका छोराछोरीको रगत बगेको छ, यही रगतको जगमा नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सम्पूर्ण सहिदहरु देशका साझा सहिद हुन्, उनीहरुको सम्मान गर्नु राज्यको दायित्व हो ।’

उनले पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गरे । आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रुपमा स्थापित गरेको पनि उनले बताउँदै भने, ‘यसमा छुटेका नामहरु निरन्तर सहिदको सूचिमा समावेश गरिने छ ।’

शहीदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा पार्टी निरन्तर जुटेको उल्लेख गर्दै अब बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न अभियानात्मक रुपमा अघि बढ्ने उनले जानकारी दिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि केही समय आफ्नो वर्ग र समुदायका जनतासँगको नियमित सम्पर्कमा कमी आएको स्वीकार्दै उनले त्यही क्रममा सहिद तथा बेपत्ता परिवारसँगको भेटघाट पनि पातलिए बताए ।

अध्यक्ष प्रचण्डले पछिल्लो केन्द्रीय समितिको बैठकले पार्टीलाई पुनः आफ्नै वर्ग र समुदायमा फर्काउने निर्णय गरेको र त्यसकै कार्यान्वयनमा आफूहरु पार्टी रुपान्तरण तथा पुनर्निर्माणको अभियान लिएर देशव्यापीरुपमा अघि बढेको बताए ।

आफू प्रधानमन्त्री हुँदा गोरखामा पूर्वाधार निर्माण र जनताको जीवनस्तर रुपान्तरणमा सहयोग पुग्ने आवश्यक बजेट विनियोजन गरिएको बताउँदै उनले उनले यसको कार्यान्वयनमा ध्यान दिन स्थानीय पार्टी र जनसमुदायलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट