Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग भेटवार्ता

काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच सोमबार ओमनको मस्कटमा भेटवार्ता भएको छ ।आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा देउवा र इरानी विदेशमन्त्रीबीच भेटावर्ता भएको हो ।

सो वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । साथै त्यस अवसरमा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्रीसँग आग्रह गर्नुभएको थियो ।हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा देउवाले केही दिन अघि पनि इरानी विदेशमन्त्री अराघ्चीसँग फोनमा कुराकानी गर्नुभएको थियो ।

आज भएको भेटका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको थियो । नेपाली युवा विपिनलाई हमासबाट मुक्त गर्न आफूले सक्दो पहल गर्ने आस्वासन उहाँले दिनुभएको थियो ।

सन् २०२३ को अक्टोबरमा हमासको अपहरणमा परेका विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले हिजोमात्र पनि कतारका विदेश राज्यमन्त्रीसँग सो अपिल गर्नुभएको थियो ।

यसका लागि नेपाल सरकारले गत बर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरु र बैठकहरुमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट