तुलसीपुर: नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश बनाउने अभियानमा लाग्न सबैलाई आह्वान गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका वडा ११ मालेडाँडामा रहेको श्रीमणि स्मृति पार्कको शिलान्यास गर्दै महासचिव पोखरेलले सो आव्हान गर्नुभएको हो ।
देश र जनताको पक्षमा काम गर्ने नेतृत्वका लागि जनस्तरबाट हौसला प्रदान गर्नुपर्ने बताउनुभयो । महासचिव पोखरेलले भन्नुभयो, “देशमा काम भएन, देशमा बस्ने वातावरण छैन भन्दै नकारात्मक आलोचनाभन्दा विकासले फड्को मारेको अवस्थामा, सकारात्मक सन्देश प्रवाह जनस्तरबाट हुनुपर्छ ।”
पार्क निर्माण समितिका अध्यक्ष घमण्डबहादुर मल्लको अध्यक्षता एवम् नेकपा (एमाले) का महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेलको प्रमुख आतिथ्यमा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका पोखरेलले बस्ती विकाससँगै खुल्ला क्षेत्रको संरक्षण र देशको लागि योगदान दिएका व्यक्तिहरुको सम्झनामा पार्क निर्माण गरिनु सकारात्मक काम भएको बताउनुभयो । उहाँले श्रीमणि आचार्यको कम्युनिष्ट आन्दोलनका साथै सामाजिक, शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
शिलान्यास कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खड्काले गुरुयोजनासहित पार्क निर्माण सुरु गरिएको र यसबाट यस क्षेत्रको पर्यापर्यटनमा टेवा पुग्ने बताउनुभयो । एक बिघा क्षेत्रफलमा निर्माण गरिने पार्कमा सौन्दर्यकरण, खुल्ला व्यायामशाला, फुटपाथ ब्लक रहनेछ ।
सङ्घीय सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङका प्रमुख प्रवीण शाहका अनुसार एक करोड ५३ लाख बजेटमा ठेक्का प्रक्रियाबाट टेण्डर भई एक करोड चार लाखको लागतमा संरचना निर्माण सम्झौता भई काम सुरु गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij