काभ्रे : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अब मुलुकमा समाजवादी क्रान्तिको सुरुवात भएको बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले धुलिखेलमा आयोजना गरेको ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण एवं पार्टीको पालिकास्तरको नयाँ निर्वाचित समितिलाई बधाई’ कार्यक्रममा बोल्नुहुँदै उहाँले त्यसको सुरुवात आफु तेस्रो पटक प्रधानमन्त्री भएपछि सुशासन, सामाजिक न्याय र समृद्धिको कामको थालनी गरी भएको बताउनुभयो ।त्यसको लागि पार्टीभित्र र नेताहरुलाई नभनिकन नै आफैले भ्रष्टाचारका विरुद्धमा लड्नका लागि सुशासनको पक्षमा काम थालनी गरेर अगाडी बढेको उहाँले बताउनुभयो ।
‘मुलुकको सबैभन्दा ठूलो समस्या भनेको नै भ्रष्टाचार हो भन्नेमा म पुगें, त्यसैले सुशासनको पक्षमा, भ्रष्टाचारको विरुद्धमा र सामाजिक विभेदका विरुद्ध न्यायका पक्षमा दृढतापूर्वक काम गरेको छु ।’
उहाँले भन्नुभयो, ‘आर्थिक संकट समाधान र समृद्धिका पक्षमा पनि गरेर हेर्दा सरल काम गरेर नयाँ र महत्वपूर्ण सन्देश दिन सफल भएको कुरा आज आत्मविश्वासका साथ भन्न सक्ने ठाउँमा आईपुगेको छु ।’
ती तीन वटा कार्यको थालिनभित्र समाजवादी क्रान्तिको भ्रुण भएको र जसले समाजवाद निर्माणको नेपाली बाटो खेज्ने जमर्को नै त्यसभित्र भएको अध्यक्ष प्रचण्डले दावी गर्नुभयो । माओवादीलाई कांग्रेस र एमालेभन्दा भिन्न छौं भन्ने देखाउने र स्थापित गर्ने मर्म नै त्यसभित्र भएको उहाँको भनाई छ ।कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले वर्ग संघर्षमा भन्दा अन्तरसंघर्षमा रम्न थालेर विग्रेको बताउँदै अब विचार र राजनीतिलाई जोड दिन आग्रह गर्नुभएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij