Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री आरजुको फोन

विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री आरजुको फोन

काठमाडौँ : हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् । हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री आरजुले गएराति इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् । त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रमन्त्री आरजुको निजी सचिवालयले जनाएको छ ।

इजरायल र हमासबिच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले मुक्त गर्न थालेका छन् । हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहललाई जारी राखेको छ । यसक्रममा मन्त्री डा राणाले अघिल्लो हप्तामात्र इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी पहलका लागि आग्रह गरेकी थिइन् । इजरायल र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री आरजुले हमाससँगको शान्ति वार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गर्दै आइरहेकी छिन् ।

केही हप्ताअघि मन्त्री डा राणाले इजरायलका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिइन् । त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिन अघि इजरायलका राष्ट्रपतिसँग फोनमा सो आग्रह गरेका थिए ।हिजो इजरायलका राष्ट्रपतिले फोन गरी जोशीको रिहा लागि पहल गर्ने आश्वासन दिएका थिए । विपिनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री आरजुले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट