Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलनको तयारी तीव्र !

हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलनको तयारी तीव्र !

काठमाडौँ: हिमवत्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिका बारेमा विचार–मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानको आयोजनामा चैत १ गतेदेखि ३ गते (१४–१६ मार्च २०२५) सम्म काठमाडौँमा सम्मिलन आयोजना हुने भएको हो ।

सो सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष तथा सम्मिलन संयोजक डा. विजय सुब्बाले हिमवत्खण्डमा उद्भव भएका मानव सभ्यता र सांस्कृतिक वैभवहरूका साथै यस भू–खण्डमा बसोबास गर्ने विभिन्न भाषा–भाषीका विभिन्न संस्कृति, सभ्यता र ज्ञान परम्परालाई आत्मसात् गर्दै यहाँका विविध जातजाति तथा समुदायबिच सांस्कृतिक आदान–प्रदान गर्ने, संस्कृति, सभ्यता र ज्ञान परम्पराका सम्बन्धमा प्राज्ञिक विमर्श गर्ने, तिनको खोज–अन्वेषण, अध्ययन–अनुसन्धान, संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने, बहुभाषिक एवम् बहु सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाई हिमवत्खण्डका संस्कृति र सभ्यताप्रति गौरवको भावना जगाउने, सामाजिक एकता र सद्भावलाई भावनात्मक र व्यावहारिक रूपमै सुदृढ तुल्याउँदै जाने उद्देश्यले ‘हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२८१’ आयोजना गर्न लागिएको बताउनुभयो ।

डा. सुब्बाका अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा समुद्घाटन हुने सम्मिलनमा मुलुकका सातओटै प्रदेशका साथै भारत (सिक्किम, पश्चिम बङ्गाल, असम, मणिपुर, मेघालय, उत्तराञ्चल आदि), चीन, बङ्गलादेश, म्यानमार, भुटान, थाइल्यान्डबाट नेपाली लोकसंस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा ‘हिमवत्खण्ड, यसको महिमा र लोकसंस्कृति’का सम्बन्धमा, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङद्वारा ‘हिमवत्खण्डको सांस्कृतिक वैशिष्ट्य’का सम्बन्धमा र सिक्किमका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ साहित्यकार पवन चाम्लिङद्वारा ‘हिमवत्खण्डमा नेपाली भाषा तथा नेपाली लोकसंस्कृतिको अवस्था’का बारेमा विशेष प्रवचन हुने छ । डा. सुब्बाले भने, “यसका साथै प्रा.डा. चूडामणि बन्धुद्वारा हिमवत्खण्डमा नेपाली भाषाको अवस्था, डा. रमेश ढुङ्गेलद्वारा हिमवत्खण्डको संस्कृति र विश्वव्यापीकरण एवम् डा. भेषराज अधिकारीद्वारा हिमवत्खण्डको नेपाली खानपान संस्कृतिसम्बन्धी कार्यपत्रहरू प्रस्तुत हुनेछन् ।”

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित पत्रकार सम्मेलनमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलनमा नेपाली चलचित्रमा भाषा, सञ्चारमाध्यममा नेपाली भाषाका सम्बन्धमा समेत समूह विमर्श हुने पनि डा. सुब्बाले बताए । उनले थपे, “सम्मिलनमा विभिन्न जातजातिका लोकसंस्कृति झल्किने सांस्कृतिक झाँकीसहित समुद्घाटन समारोह, प्राज्ञिक विमर्श, समूह विमर्श, हिमवत्खण्ड कन्सर्ट, हिमवत्खण्डका संस्कृति झल्किने नेपाली चलचित्रको प्रदर्शनी, लोककला, वेशभूषा तथा लोकबाजाहरूको प्रदर्शनी र कविता उत्सवलगायतका कार्यक्रम समेत हुने जानकारी दिए । यसअघि २०७५ सालमा भानु जयन्तीका अवसरमा हिमवत्खण्ड कला–साहित्य सम्मिलन आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट