पर्वत : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन समयमै हुने बताउनुभएको छ । पर्वतको पैँयू गाउँपालिकास्थित हुवासमा आयोजित नेपाली कांग्रेस पर्वत क्षेत्र ‘ख’ को प्रथम क्षेत्रीय सम्मेलनमा उहाँले महाधिवेशन विसं २०८२ मङ्सिरभित्रै गर्नुपर्ने व्यवस्थाअनुसार नै हुने बताउनुभयो ।
पछिल्लो समय विसं २०८४ को आम चुनावपछि महाधिवेशन हुने चर्चा चलिरहेको भन्दै महामन्त्री थापाले महाधिवेशनलाई लामो समय गुजार्न नहुने तर्क गर्नुभयो । “तपाईहरू भ्रममा नपर्नुहोला महाधिवेशन निर्धारित समयमै हुन्छ । अधिवेशनअघि पार्टीभित्रका आन्तरिक समस्या समाधान गर्ने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो ।
महामन्त्री थापाले मुलुकको विकासका लागि कांग्रेस नेतृत्वमा थुप्रै काम भए पनि प्रचार गर्न नसकिएको धारणा राख्नुभयो । उहाँले अबको १० वर्षमा नेपाललाई समृद्ध बनाउने गरी पार्टीले सुशासन, स्थायित्व र विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री थापाले सरकारले कामको गति बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “सरकारले नियमित काम गरे पनि परिणाम देखिने गरी काम भएको छैन । त्यसैले कार्यशैली सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतालाई आशा जगाउने गरी काम गर्न नसके थप समस्या हुनसक्छ ।”
महामन्त्री थापाले संविधानमा रहेका केही उल्झनलाई सच्याएर जानुपर्ने त्यसका लागि सबै दलको सहमतिका लागि पहल गरिनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा कांग्रेका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, गोबिन्दबहादुर शाह, तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङलगायतले सम्बोधन गर्नुभएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij