Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

फागुन ३ गतेदेखि माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गर्ने

फागुन ३ गतेदेखि माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गर्ने

विराटनगर : झापाको कचनकवल गाउँपालिकाबाट आगामी फागुन ३ गतेदेखि नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुरूप देशव्यापी रूपमा कचनकवलबाट छ महिने अभियान सुरु हुन लागेको हो ।

हुलाकी राजमार्गदेखि सुरु हुने अभियान महाकाली पुगेर पुनः मदन भण्डारी राजमार्ग केन्द्रित भएर सोलुखुम्बुको सगरमाथाको फेदीमा समापन हुनेछ । हुलाकी राजमार्ग केन्द्रित अभियानका लागि शुक्रबार माओवादी केन्द्र झापाको पाँचौँ पूर्ण बैठकले कार्यविभाजन समेत गरेको छ । पार्टी–कार्यकर्ता परिचालनदेखि गाउँ–नगर अधिवेशन सम्पन्न गर्ने लगायतका कार्य भइरहेको पार्टीका जिल्ला सचिव मोहन टुडूले जानकारी दिए ।

पार्टीका उपमहासचिव हरिबोल गजुरेलले पार्टीलाई मजबुदर बनाउन नेता–कार्यकता रुपान्तरण हुनुपर्नेमा जोड दिए । प्रदेशका इन्चार्जसमेत रहेका उनले पार्टी भित्रका अन्तर्विरोध हटाउनु पर्ने बताउँदै सुधारात्मक अन्तर्विरोध आवश्यक रहेको बताए ।

पार्टी कमजोर हुनुमा नेता कमजोर नभई नीतिगत त्रुटिले गर्दा पार्टी कमजोर भएको उनले उल्लेख गरे । ‘बिरुवा आधुनिक भए पनि परम्परागत रूपमा मलजल गर्दा प्रतिफल पाउन सकिँदैन,’ उनले भने, ‘हाम्रो विचारमा सुधार गर्न नसक्दा पार्टी कमजोर भयो, त्यसलाई सुधार्नु पर्छ ।’

बैठकमा पार्टीकी केन्द्रीय सदस्य धर्मशीला चापागाईँले पार्टीले पूर्वलाई केन्द्रले ध्यान दिनुपर्ने बताइन् । पार्टीका केन्द्रीय सदस्य इन्द्र आङ्बोले पछिल्लो माओवादी पार्टीप्रति जनाधार बढेको बताए । उनले उत्पादन र रोजगारीको क्षेत्रमा पार्टीले काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट