काठमाडौँ : सभामुख देवराज घिमिरेले ‘आफूलाई लागेको कुरा मात्र आकस्मिक हुँदैन’ भन्दै प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको विरोधका बाबजुद बैठक सञ्चालन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले बैठकको सुरुमै बोल्न समय मागेका थिए । सभामुख घिमिरेले प्रतिनिधि सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक भएकाले दलीय आधारमा बोल्न समय दिइएको भन्दै रास्वपाका सांसदलाई आफ्नो आसनमा बस्न आग्रह गरेका थिए ।
रास्वपाका सांसदले प्रतिनिधि सभा नियमावलीको नियम १५ को उपनियम (१) अनुसार बोल्न समय मागेका थिए । उक्त नियममा भनिएको छ, ‘सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले शून्य र विशेष समय तोक्न सक्ने छ । तर अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठकको बिचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सदस्यले ढ्यापढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ ।’
रास्वपा सांसदको मागपछि सभामुखले आफूलाई लागेको कुरा मात्र ‘आकस्मिक’ हुन नसक्ने प्रस्ट पारेका थिए । त्यसपछि सभामुखले राष्ट्रपति कार्यालयबाट आएका पत्र पढेर सुनाएका थिए । आफूहरूको विरोधका बाबजुद बैठक अघि बढाएपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij