काठमाडौँ : नेकपा(माओवादी केन्द्र) उपमहासचिव जनार्दन शर्माले उत्पादनलाई शिक्षा र सिपसँग जोड्न नसक्दा समस्या भएको बताएका छन् । नेकपाले सोमबार काठमाडौँमा सुरु गरेको ‘सी व्यापार केन्द्र’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले उत्पादनलाई नै प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
‘नेकपाले एकीकृत उत्पादन नीति ल्याएको छ । यो चुनौतीपूर्ण थालनी हो । जति चुनौती भएपनि यसलाई निरन्तरता दिनु आवश्यक छ । प्रकृतिले हामीलाई दिएका स्रोतहरू साझा हुन् । स्रोतको प्राथमिकता जनताले पाउनुपर्ने हो । मानव सभ्यताको विकाससँगै तीनको स्वतन्त्रता पराधीन हुँदै गएको छ’, उनले भने, ‘पुँजीपतिहरूले प्राकृतिक स्रोत साधन कब्जा गरेका छन् । श्रमिकको हातमा छैन । यसको वितरण कसरी गर्ने भन्नेमा विश्व विभाजित छ । स्रोत र साधनमा जनताको स्वामित्व स्थापित गर्ने मान्यता राख्छौँ । केही कुरा पुँजीवादबाट सिक्नुपर्छ ।’
शर्माले हरेक व्यक्तिले गर्ने क्रियाकलाप, किसान, बुद्धिजीवी चाहे जोसुकै व्यक्तिले पनि देशको अर्थतन्त्रलाई बलियो बनाउन प्राथमिकता दिनुपर्ने तर श्रमिक, किसान, मजदुरले प्राथमिकता नपाएर पुँजीपतिहरूले मात्र प्राथमिकता पाएकाले समस्या आएको तर्क गरे । शिक्षालाई सिपसँग जोड्न नसकिएको, उत्पादनलाई उद्योगसँग र उद्योगलाई बजारसँग जोड्न नसक्दा समस्या आएको उनले दाबी गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij