Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपाल भारतका सशस्त्र प्रहरी बल डिआईजी स्तरीय बैठकका यस्ता छन् निर्णय

नेपाल भारतका सशस्त्र प्रहरी बल डिआईजी स्तरीय बैठकका यस्ता छन् निर्णय

रुपन्देही: बुटवलमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलवीचको डिआईजी स्तरीय बैठकले सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण, सीमा स्तम्भहरुको मर्मत तथा सम्भार लगाएतका बिषयमा समन्वय गरेर कार्य सम्पादन गर्ने निर्णय गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले आयोजना गरेको छैठौ समन्वयात्मक बैठकले दशगजा क्षेत्रमा हुने अतिक्रमण, दशगजा क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचनाहरु संयुक्त प्रयासद्वारा हटाउने, दशगजा क्षेत्रको सरसफाई तथा सौन्दर्यकरण गर्ने निर्णय गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालले जानकारी दिनुभयो ।

बैठकले मानव तस्करी, अपहरण, नक्कली मुद्रा, हातहतियार, गोलिगठ्ठा, लागूऔषध तथा प्रतिबन्धित औषधी लगायत अवैध वन्यजन्तु तस्करी नियन्त्रण, गैरकानुनी रुपमा प्रवेश गर्न खोज्ने तेस्रो देशका नागरिकहरुको नियन्त्रण तथा रोक लगाउने विषयमा विस्तृत रुपमा छलफल गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक पालले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच संयुक्त अभियान अन्तर्गत दशगजा क्षेत्रमा संयुक्त गस्ती, हेल्प तथा हेल्थ डेस्क संचालन, खेलकुद तथा विविध अभ्यासहरुलाई समेत निरन्तरता दिईने बैठकबाट सहमती गरिएको उहाँको भनाई छ ।

बैठकमा सशस्त्र प्रहरी नायव महानिरीक्षक पालले छलफलको क्रममा उठेका सबै विषयहरुको कार्यान्वयनको सम्बन्धमा समकक्षी निकायको प्रभावकारी एवं परिणाममुखी भूमिका आवश्यक रहेको औल्याउँनु भएको थियो ।

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनाले नेपाल–भारत खुल्ला सीमा सम्बन्धी समस्या तथा चुनौतीहरु र त्यसका समाधानका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

बैठकमा भारततर्फबाट भारतीय सशस्त्र सीमा बलको सेक्टर हेडक्वाटर लखीमपुर खिरीका डिआईजी बी। विक्रमन तथा सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी मुन्ना सिंहले गर्नुभएको थियो ।

यसअघि सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीच डिआईजी स्तरीय पाँचौ समन्वयात्मक बैठक भारतको उत्तर प्रदेश स्थित आईसिपी रुपैडियाको बहराईचमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij