राप्ती : पछिल्लो समय जंगली जनावर मानवबस्तीमा प्रवेश गर्न थालेपछि लोथर मध्यवर्ती उपभोक्ता संस्थाले सचेतनामूलक कार्यक्रम सुरू गरेको छ । जंगली जनावरहरु गैँडा, बाघ, हात्ती मानवबस्तीमा प्रवेश गरी आक्रमणका घटना हुन थालेपछि समितिले सचेतनामूलक कार्यक्रम गरेको हो ।
जंगली जनावरको संरक्षण गर्दै द्वन्द्व हुन नदिन गर्न सकिने उपायका बारे स्थानीयलाई जनचेतना जगाउन कार्यक्रम गरिएको लोथर उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्वोले जानकारी दिए । पछिल्लो एक साता गैँडा मानवबस्तीमा प्रवेश गरी मानिसलाई आक्रमण गर्ने र बालीनालीको क्षति गरेको छ । गैँडाको आक्रमणमा रत्ननगर–१६ की एक महिलाको मृत्यु भएको छ भने छ जनाभन्दा बढी घाइते भएका छन् । लोथर उपभोक्ता समितिअन्तर्गत भने पछिल्लो तीन दिनमा दुई जनालाई घाइते बनाएको छ ।
समितिका अध्यक्ष स्याङ्वोले आक्रमणका घटना न्यूनीकरण गर्न तथा ठूला घटना हुन नदिन जनस्तरमा कार्यक्रम थालिएको बताए । ‘जंगली जनावरबाट दिनहुँ आक्रमणका घटना भइरहेका छन्’, समिति अध्यक्ष स्याङ्वोले भने, ‘जनावरको पनि संरक्षण गर्दै आक्रमणका घटना न्यूनीकरण गर्ने उद्देश्यसहित जनस्तरमा सचेतना फैलाउन कार्यक्रम सुरू गरेका हौँ ।’
पहिलो चरणमा सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि, समिति, चितवन निकुञ्ज, नेपाली सेना, नेपाल प्रहरीसहित सरोकारवालाबीच कार्यक्रम गरिएकोमा उपभोक्तामाझ पनि कार्यक्रम गरिने समिति अध्यक्ष स्याङ्वोले जानकारी दिए । समितिको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता तथा संरक्षण केन्द्रको सहकार्यमा कार्यक्रम गरिएको हो । सो अवसरमा गैँडा, बाघ, हात्तीको आनीबानी, बच्ने उपाय, संरक्षणका उपायका बारे केन्द्रका प्रतिनिधि र निकुञ्जका प्रतिनिधिले जानकारी गराएका थिए ।
कार्यक्रमका प्रमुखअतिथि राप्ती–२ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले जंगली जनावर बस्तीमा पस्न नदिन गर्न सक्ने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । ‘जनावरको संरक्षण पनि हुने, आक्रमणका घटना पनि हुन नदिने गरी सबै जुटौँ’, वडा अध्यक्ष उप्रेतीले भने, ‘निकुञ्ज प्रशासन बढी जिम्मेवार भएर काम गर्नुपर्छ ।’
अन्य जनप्रतिनिधिले निकुञ्ज र स्थानीय तहबीच समन्वय अभाव रहेको भन्दै समन्वय गर्ने कामलाई चुस्तदुरूस्त बनाउनुपर्ने बताए । निकुञ्ज तथा मध्यवर्तीआसपासका जनतालाई सेवा दिँदा व्यावहारिकतासमेत ख्याल गर्न जनप्रतिनिधिले निकुञ्जको ध्यानाकर्षण गराए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij