वीरगञ्ज : पर्सा जिल्लाको ठोरी गाउँपालिकास्थित भारतसँग जोडिएको नाका; अमृतधारा छोटी भन्सार कार्यालयले भारतीय सवारीसाधन प्रवेशमा रोक लगाएको छ ।पुस १६ गतेदेखि अमृतधारा छोटी भन्सार कार्यालयबाट भारतीय सवारीसाधनको प्रवेशका लागि भन्सार प्रज्ञापन पत्र (अस्थायी पैठारी) मा औपचारिक रूपमा रोक लगाइएको हो ।
गत वैशाख १९ गतेदेखि सञ्चालनमा रहेको भारतीय सवारीसाधनको अस्थायी पैठारी पुस १६ गतेपछि भन्सार विभागले समयावधि थप नगरेका कारण बन्द भएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार विभागले २०२४ डिसेम्बर ३१ (पुस १६) सम्मका लागि मात्र अनुमति दिएको र समयावधि सकिएपछि नवीकरणको प्रक्रिया अघि नबढेकाले भारतीय सवारीसाधन प्रवेश स्थगित भएको हो ।
भन्सार कार्यालयले समयमै भन्सार विभाग र अन्य सम्बन्धित निकायलाई परिपत्र गरे पनि हालसम्म थप निर्देशन नआएको जनाएको छ ।
वैशाख १९ देखि पुस १६ सम्मको अवधिमा भारतीय सवारीसाधन अस्थायी पैठारीबाट १० लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ ।
अस्थायी पैठारी रोकिएपछि भारतीय पर्यटकहरू ठोरी नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा समस्यामा परेका छन् । ठोरी बजार व्यवस्थापन समितिका अध्यक्ष बलराम सापकोटाका अनुसार भन्सार प्रज्ञापन पत्र कटाउन नसकेपछि दैनिक १० भन्दा बढी भारतीय पर्यटक निराश हुँदै फर्किनुपरेको छ ।
होटेल व्यवसायी दिनेश नेपालले नयाँ वर्ष २०२५ को आगमनसँगै भन्सार कटौती रोकिएपछि ठोरी बजार र व्यवसायमा असर परेको बताए । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले अस्थायी पैठारी पुनः सुरु गर्न सम्बन्धित निकायसँग प्रक्रिया अघि बढाइएको जनाएका छन् ।
ठोरी नाकाबाट भारतीय पर्यटकहरूको आवागमन बढिरहेकोले अस्थायी पैठारी नवीकरण आवश्यक भएको समृद्ध ठोरी अभियानका संयोजक प्रकाश खनालले बताए । उनले नेपाल सरकार र भन्सार विभागले पर्यटन प्रवर्द्धनका लागि समयमै पहल गर्नुपर्ने सुझाव दिए ।ठोरी नाका नेपाली र भारतीय दुवै पक्षका लागि महत्त्वपूर्ण मानिएकोले यसबारे ठोस कदम चालिनुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij