Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब लाग्ने, कसरी होला बजेट व्यवस्थापन ?

बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब लाग्ने, कसरी होला बजेट व्यवस्थापन ?

काठमाडौँ : सरकारले गरेको प्रारम्भिक अध्ययनअनुसार बीपी राजमार्ग पुनर्निर्माणका लागि साढे ९ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।गत असोजमा आएको बाढी र पहिरोले यो राजमार्ग अन्तर्गत भकुण्डेदेखि नेपालथोकसम्म ठाउँठाउँमा क्षति भएको छ । यो राजमार्ग पुनर्निर्माणका लागि कुल ९ अर्ब ६६ करोड रुपैयाँ लागत लाग्ने देखिएको भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले बताए ।

बीपी राजमार्गको कालढुङ्गा चौकी डाँडा खण्डको १२ किलोमिटर सडकमध्ये ८ किलोमिटर खण्डमा पूर्ण रूपमा क्षति पुगेको छ । उक्त सडकमा तीन किसिमका पर्खाल (वाल) लगाउनुपर्ने देखिएको छ । जसमा आरसीसी रिटेनिङ वाल, प्लम वाल, गेभिएन वाल लगाउनुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।

यो ८ किलोमिटर सबै खोलाले बगाएको छेउको बाटो हो । आरसीसी वाल खोला आउन सक्ने ठाउँमा लगाउनुपर्ने देखिएको छ । कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनु पर्ने अध्ययन निष्कर्ष छ ।

अध्ययनले यो खण्डका केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखाएको थियो । तर पुल बनाउन महँगो पर्ने र पर्खाल लगाउँदा सस्तो पर्ने योगेशको भनाइ छ ।

‘यसैमा आधारित भएर बनाउँदा त नौ अर्ब ६६ करोड लागत लाग्ने देखियो । पुल बनाउँदा त झन् खर्च बढ्छ,’ उनले भने, ‘त्यही भएर अहिले वाल लगाउने तयारी भएको हो । माथि आसपाल्ट कङ्क्रिट र दुई लेनको सडक हुन्छ ।’

योगेशका अनुसार यसअघि इन्टरमिडियट लेनको सडक थियो । जबरजस्ती दुई लेनमा प्रयोगमा ल्याइएको थियो । तर अब भने दुई लेन सडक निर्माण गर्ने तयारी छ ।

अझै भएन बजेटको स्रोत सुनिश्चित यो सडक खण्ड पुनर्निर्माणको अध्ययन सकिए पनि बजेट व्यवस्थापनको पहल नभएको योगेशले बताए । उनका अनुसार यो खण्ड पुनर्निर्माणका लागि लाग्ने लागत रकमको स्रोत अहिलेसम्म सुनिश्चित हुन सकेको छैन ।

‘नेपाल सरकार आफैँले गर्ने कि जापान सरकारले गर्ने अथवा अरु स्रोत खोज्ने भन्ने टुङ्गो लागेको छैन । निर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभएसम्म ठेक्का खोल्न सकिँदैन,’ योगेशले भने, ‘ढिला भइसक्यो । अब ठेक्का खोल्दाखेरी वर्षा याम सुरु हुन्छ । वैशाखपछि पानी पर्न सुरु हुने भएकाले निर्माणमा समस्या हुन्छ ।’

योगेशका अनुसार चाँडै बजेटको व्यवस्था नहुने हो भने वैशाखपछि यो सडक सञ्चालन गर्न नसकिने निश्चित छ । त्यसैले सरकारले यो खण्ड निर्माणका लागि बजेटको स्रोत सुनिश्चितता गर्न आवश्यक देखिएको उनले बताए ।

सरकारले जति छिटो बजेट व्यवस्थापन गर्छ, त्यति नै चाँडो निर्माण कार्य अघि बढ्ने योगेशको भनाइ छ । ‘स्रोत सुनिश्चितता भयो भने हामी काम सुरु गर्थ्यौँ । अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन सक्छ,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको वर्षा अगाडि पर्खाल नबनाइ नहुने स्थानमा पहिला पर्खाल बनाइहाल्ने हो । त्यो अवस्था रहेमा वर्षामा पनि सवारी चलाउन सकिन्छ ।’तर पूर्ण रूपमा सडक निर्माण गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने अध्ययनले देखाएको छ ।

कसरी हुन्छ बजेट व्यवस्थापन ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्ने तयारी भइरहेको बताए ।साथै उनले दातृ निकायहरू एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकको सहुलियतपूर्ण ऋण लिएर राजमार्ग निर्माण गर्ने तयारी थालेको बताए ।

‘साढे नौ अर्ब लागत लाग्ने भनिए पनि यसबाट ५/१० प्रतिशत लागत घट्न सक्छ । यो लागत रकम उपलब्ध गराउन अर्थ मन्त्रालयमा छलफल भएको छ,’ शर्माले भने, ‘विपद् जोखिम न्यूनीकरणको कोषबाट र अन्य दातृ निकायसँग सहुलियत ऋण लिएर बजेट उपलब्ध गराउँछौँ ।’

ढिलोमा पनि फागुनसम्ममा ठेक्का प्रक्रिया अघि बढाउने सचिव शर्माको भनाइ छ । बीपी राजमार्गमात्र नभएर कान्ति, अरनिको राजमार्ग पुनर्निर्माणका लागि यसरी नै स्रोत सुनिश्चितता गरिने उनले बताए ।

धुलिखेल–बर्दिबाससम्म करिब १६० किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको थियो । सन् २००५ मा निर्माण सुरु गरेको यो राजमार्ग २६ अर्ब येन लागतमा २०१५ मा सम्पन्न भएको थियो ।२०७२ सालको भूकम्पमा करिब ५ स्थानमा यो सडक भासिएको थियो । त्यतिबेला जापान सरकारले १८ महिना लगाएर पुनर्निर्माण गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट